New Memoir >>
‘गर्छौ त भाइ गर्छौ ?’, हरिसिंह ठकुरीले सोधे, ‘गर्ने भए महिनाको हजार रुप्पे दिन्छु क्यारे !’
नगर्नु पर्ने केही थिएन । आफ्नो धार्नीको मुन्टो तलमाथि हल्लाएर मैले गर्छुको जनाउ दिँदै भनेँ, ‘गर्ने हो दाइ, किन नगनु ?’
काठमन्डु ओर्लेको केही हप्तापछि मेरो जीवनमा हरि आएका थिए यसरी काम लिएर । र म काठमाडौंमा महिनाको हजार रुपैयाँ कमाउने जागिरे भएको थिएँ । काम थियो आफ्नै उचाइ बराबरको फलामे मिसिनको ह्यानडल थिचेर प्लास्टिकका बिर्को र बोत्तल बनाउनु पर्ने । समय विहान ६ देखि बेलुका ६ बजेसम्म, दिनको १२ घन्टा । भरखर एसएलसी दिएर बसेको, हातमा कुनै सीप नभएको, छेउमा चिनेको कोही नभएको बेला संयोगले यसरी काम पाउनु काठमाडौंमा सहाराको एउटा ठूलो बटवृक्ष खडा हुनु थियो ।
बस्, हरिसिंह ठकुरी मेरा लागि त्यही बटवृक्षको विशाल चौतारी भएर खडा भइदिए ।
नुवाकोटे हरि दाइ त्यतिबेला कुनै स्थापित, पैसावाल र ठूला उद्यमी थिएनन् । चारवटा मिसिन राखेर एउटा सानो टहरोमा प्लास्टिकको बिर्को बोतल बनाउने कारखाना भरखरै थालेका थिए । साँझविहान आफै काममा घोटिइरहेका हुन्थे । आफै बजार खोज्न हिंड्थे, आफै सामान पु¥याउन जान्थे र आफै पैसा उठाउन । र उनको उत्पादन प्रयोग हुन्थ्यो काठमाडौंका वैद्यहरुका घरमा बन्ने आयुर्वेदका ढुटो ओखती र झोल भर्न । केही मसला पोको पार्न । तिनले नाम र बिलमा ‘कम्पनी’ लेखिएको हुन्थ्यो तर ती ‘कम्पनी’ भन्नु पर्ने खालका हुँन्नथिए । घरको चौकुनामा जिविकोपार्जनको लागि थालिएका साना व्यापारी थिए ती ।
१९ असार २०५४ मा काठमाडौं ओर्लेर घरि त डल्लु घरि त स्वयंभु गर्दै रल्लिरहेको मलाई यो काम कहाँ हो कहाँ बेस भयो । मैले मनमनै हरि दाइलाई धन्यवाद दिएँ । यसरी भीडभाड काठमाडौँमा मनमा हरि भएका हरि भेटेको थिएँ मैले ।
यहीँ काम गर्दा भेटिएका थिए, गोरखातिरका नारायण मगर । थाहा छैन उनी अहिले कहाँ छन् । अर्का थिए, चिरिच्याट्ट परेर हिंड्ने झापाका रविन झापाली मगर । पछि मेरा मिल्ने गाउँले गोविन्द आए । धराने राजकुमार राई थपिए । हरि दाइका आफ्नै भाइ थिए भीमसेन, गठिलो जीउ भएका– भीमसेनैजस्ता । हरि दाइको प्लास्टिक कारखाना हाम्रो रोजगारीको थलो त थियो नै, त्यतिबेलाका झरझराउँदा जवानहरुको क्लबजस्तो बनेको थियो । यहीँ काम गर्दैगर्दा म, रविन र गोविन्द मिलेर एउटा हवाइ पत्रिका निकालेका थियौँ । यसको अर्कै कथा छ ।
यही जागिरले सुरु गरेको हो विशाल काठमन्डु खाल्डोमा मेरो डेरा जिन्दगी । त्यसैले मेरा लागि यो काम आफैमा सोचेभन्दा धेरै थियो । हुन त काठमाडौं आउनु अघि खासै सोचेको केही थिइनँ । एक्लो ज्यान, जसो होला चलिजाला तरिकामा हिंडेको जो थिएँ मामाघरकी हजुरआमाले दिएको तीन सय रुपैया खल्तीमा हालेर ।
हरि दाइको कारखानामा मैले धेरै महिना काम गरिनँ । शायद त्यस्तै पाँच सात महिनाजति गरेँ हुँला, ठ्याककै अवधी अहिले बिर्सिएँ । किनभने उनै हरि दाइले मलाई एक दिन गैरीधाराको ‘हिमाली स्पाइस सर्भिस’मा पु¥याइदिए जहाँ उनी आफ्नो उत्पादन प्लास्टिकका बोतल बेच्थे ।
‘केटो तगडा र टाठो छ’, उनले भनिदिएका थिए, ‘साइकल चलाउन पनि जानेको छ । सहर सबैतिर फिलिली पुग्न सक्छ ।’
थाहा छैन उनले किन यसो भने । आफू कहाँ काम गरिरहेको कामदारलाई किन आफ्नो ग्राहककोमा जागिरे बनाउन खोजे– म त्यो जान्दिनँ । बिना चिनजान उनले पहिला मलाई जागिर दिए, पछि अर्को जागिर खोजिदिए । जहाँ मेरो तलब थियो हरि दाइले दिइरहेको भन्दा ५ सय रुपैया बढी महिनाको १५ सय रुपैयाँ । काम गर्ने समय विहान ९ बजेदेखि ५ बजेसम्म, हरि दाइकोमा १२ घन्टा काम गरिरहेको मेरा लागि त त्यो ‘अफिस’ नै भइगयो ।
मनमा एक तर्कना लाग्छ, हरि दाइले त्यो जागिरमा नपु¥याइदिएको भए शायद म यहाँसम्म आइपुग्ने बाटो खुल्ने नै पो थिएन कि?
गैरी धाराका साहु थिए रामेश्वर श्रेष्ठ । उनकोे घर गैरीधारा चोकैमा थियो । थाहा छैन अहिले त्यो घर छ छैन । उनीहरु तीन भाइ थिए । निहुरिएर नछिरे टुटुल्को उठ्ने, सानो लिस्नो चढेर तला उक्लिनुपर्ने, मूल साडकमा ठूलो बस कुद्दा अब ढलि पो जान्छ कि झैँ हल्लिने त्यो पुरानो कमजोर घरको भुइँ लताको मूल सडकपट्टि कपाल काट्ने सैलुन थियो । त्यो मूल सडक दरबारको उत्तर ढोका छिचोलिन्थ्यो र सीधा गए भाटभटेनी चोक । चोक पट्टिको घर अलि पक्की थियो, शायद त्यसमा उनको कान्छो भाइ बस्थे । चोकबाट नक्साल जाने बाटोको दाहिनेपट्टि इँटा छापिएको ढुंगेधारा थियो । धारा अघिल्तिर रामेश्वर साहुकै अर्का भाइको किराना पसल थियो ।
म रामेश्वर साहुको त्यही मक्किएको पुरानो घरको अँध्यारो छिंडीमा काम गर्थेँ । त्यो छिंडीमा धारो र शौचालय थियो जहाँ दिउँसै पनि बत्ती नबाली भित्र जान सकिन्न थियो । दोस्रो तलामा फोन, ब्ल्याकेन ह्वाइट टिभी सहित ओच्छ्यान भएको उनको कोठा थियो । धोद्रे स्वर भएका अलि हक्की खाले काठमााडैंका खाँट्टी नेवार थिए रामेश्वर साहु । तेस्रो तलामा उनका छोरीहरु बस्थे । अलि उचाइदार मान्छे सीधा भएर उभिए टायलमा टाउको ठोकिने चौथो तलामा उनीहरुको भान्सा थियो र त्यही भान्सामा रामेश्वर साहु मायोनिज बनाउँथे । जाम बनाउँथे । ममका मसला बनाउँथे । मसला त के भन्नु मरिच र चिउराको धूलो मिसाएर ससाना प्लास्टिकमा निश्चित तौलमा प्याक गर्थे ।
मेरो जिम्मा टेकु कालिमाटी तिर एकजना मनोज नामका भारतीय कवाडीवालाकोमा गएर वियर र जामका पुराना बोत्तल ल्याउने, सरफ पानीमा एक दिन ढड्याएर राख्ने, भोलिपल्ट मस्काएर टलक्क पार्ने र सुकाउने थियो । मायोनिज र जाम भर्न तिनै बोत्तल प्रयोग गरिन्थ्यो । वियरका बोतलमा चाहिँ भेनेगर भरिन्थ्यो । म न्यूरोड मखनगल्ली, भोटाहिटी जान्थेँ मरिच चिउराका बोरा बोकेर सानो गौचरनको मसला मिलमा पु¥याउँथेँ । कालिमाटीबाट साहुजीले अर्डर गरेका व्यापारी भेट्दै स्ट्रबेरी र आरुबखडाका बोरा बोकेर आउँथेँ, पखाल्थेँ र सुकाउँथे ।
गर्मी महिनामा मलाई यो काम बडा काइदाको थियो ।
साइकलमा हरर सहर हिंड्न पाइन्थ्यो । आउँदा वा जाँदा एकपल्टमात्रै साइकलमा भारी हुन्थ्यो, फिर्ता सामान आएन भने वा सामान अर्डर अनुसारको माल पु¥याउनु परेन भने एकतर्फी यात्रा साइकलमा सरर ।
त्यसरी शहरमा साइकल चलाउँदा म सोच्थेँ, ‘यो सडक मेरो हो ।’ साहुजीकै सही, काठमाडौं सहरमा साइकल चलाएर हिंड्न पाउनु मेरा लागि ठूलो सान थियो । चढ्नका लागि प्रतिघन्टा साइकल हेरी १० देखि १५ रुपैया भाडामा साइकल पाइन्थे त्यतिबेला । तर त्यसरी पैसा तिरेर साइकल चढ्ने हैसियत मेरो थिएन ।
तर जाडो महिनामा ?
चीसो पानीले दिनभर बोत्तल धुँदा साँझ हात अररो हुन्थ्यो र जीउनै सरफ गन्हाउँथ्यो । एकनास एकैठाउँ बसेर बोतल मस्काइरहँदा ढाड अररो भएर दुख्थ्यो । गतिलो तातो लुगा बिना साइकलमा सामान ओसार्दा सिरेटोले छाती छेड्लाजस्तो हुन्थ्यो । ठन्डीले आँखाका चेपचेपबाट आँसु निस्कन्थ्यो ।
र पनि साइकल चलाउने धूनमा म ती सब भुल्थेँँ ।
रामेश्वर साहुका सामान भरखर सुरु हुन लागेको भाटभटेनी, नमस्ते र ब्ल्युबर्ड सुपरमार्केटमा पुग्थे । त्यसबाहेक विदेशीहरु आउजाउ हुने ठमेलका केही पसल र ट्रेकिङ व्यवसायीहरुकोमा पनि ती सामान फाटफुट जान्थे । भाटभटेनी जम्मा भुइँ तलामा चल्थ्यो । त्यस्तो सुपर मार्केट हुन्छ भन्ने मैले देखेकै थिइनँ । मैले देखेको सबैभन्दा ठूलो बजार न्यूरोडको विशाल बजार थियो । त्यहाँ पहिलो तला चढ्न लिफ्ट व्यवस्था थियो । थरथर काम्दै त्यो लिफ्ट चढ्न म बेलाबेला त्यहाँ छिरिरहन्थेँ । विशाल बजारमा सामान किन्ने त सोचमै थिएन । त्यही लिफ्टबाट तलमाथि गरिरहन मजा लाग्थ्यो ।
भाटभटेनी चाहिँ एक व्यक्तिले चलाएको सबै समान एकै ठाउँमा पाइने स्टोर थियो । भित्र सफाचट हरर बासना आउने पसल छिर्दा आननन्द लाग्थ्यो । त्यतिबेला पनि भाटभटेनीको पार्किङ निजी गाडीले भरिभराउ हुन्थ्यो । भाटभटेनीमा कहिले मीनबहादुर गुरुङ आफैले कहिले उनकी सालीले सामान बुझ्ने र भुक्तानी दिने गर्थे । भुक्तानी प्राय क्यास वा चेकमा हुन्थ्यो ।
कान्तिपुरमा काम थालेपछि एक दिन मीनबहादुर गुरुङलाई भेट्नु पर्ने काम आइलाग्यो । मार्केटिङको कसैले त्यो प्रस्ताव ल्याएको थियो । लेख्नु पर्ने विषय थियो, भाटभटेनीले सामाजिक सेवा अन्तर्गत चार जनालाई एमबीबीएस अध्ययनका लागि दिएको फुल छात्रवृत्ति । त्यतिबेला सम्म भाटभटेनीका शाखा खुलिसकेको थियो महाराजगन्ज र पाटनढोकामा । जनही करिब ३६ लाख थियो क्यार छात्रवृत्तिको रकम । उनीहरुले त्यो समाचारमा आओस् भन्ने चाहेका रहेछन् । त्यो कार्यक्रम पछि निरन्तर भयो भएन मैले फलो अप गरिनँ । २०१० को कुनै महिना गुरुङलाई मैले उनकै अफिसमा भेटेको थिएँ मूल भाटभटेनीमा । यो भेटमा मैले उनलाई रामेश्वर साहुकोबाट सामान लिएर आउँने गरेको र कहिले उनकी साली र कहिले उनैले भुक्तानी दिने गरेको कुरा सुनाएको थिएँ । उनले भनेका थिए, ‘ए हो र?’
रामेश्वर साहुको घरमा रमाइलो संयोग थियो । रामेश्वर साहुकी आमा नेपाली बुझ्दिन थिइन् । मलाई बोलाउन परे ‘ओ खेँ चा’ भन्थिन् । सकेसम्म उनको छेउतिर नआउनु र उनलाई नछुनु भन्थिन् ।
‘घरभित्र नछिर्नु, बाहिरै बसेर खानु, आफूले खाएको आफैले माझ्नु, पुराना शीशी धुनु जानु’ उनी नेवारीमा भन्थिन्, ‘तँ काम गर्ने होस्, भित्र पस्नु हुँदैन ।’ उनले त्यसो भनेपछि मैले एकदिन भरखरभखर सिकेको नेवारीमै जवाफ फर्काइ दिएको थिएँ अलि ठाडो भाषामा, ‘काम गर्ने भनेर हेप्न हुन्न बजै ।’
‘तँ पनि नेवार होस्? काँ बस्छस् ?’
‘डल्लु ।’,
‘कपाली होस् कि क्या हो ? कि ढल्को तिरको धोवी होस्, कि कसाइ?’
‘म नेवार नै होइन ।’
टुटेफुटेको नेवारी बोलेको दिनदेखि उनले मलाई ‘तँ काम गर्ने, भित्र नपसी खुरुखुरु काम सकेर जा’ भनेर फेरि कहिल्यै भनिनन् । नछो चाहिँ हरेक दिन भनिरहिन् । मैले उनका कुरा सुने, खासै वास्ता गरिनँ ।
रामेश्वर साहुका एक छोरा र तीन छोरी थिए । छोरा इन्जिनियरिङ पढ्थे, शायद नाम कपिल थियो क्यार । त्यति कम बोल्ने मान्छे मैले आजसम्म भेटेको छैन । तीन छोरीका लागि चाहिँ रामेश्वर साहु ‘बाउ’ खालक ‘बाउ’ थिए । माइली छोरी ज्योत्स्ना भलाद्मी स्वभावकी थिइन्, तिनलाई घरमा अलि स्वतन्त्रता थियो । पद्यमकन्या पढ्थिइन्, शायद तिनी कतै काम पनि गर्थिन् । कान्छी हिन्दू विद्यापिठमा माध्यमिक तह पढ्थिइन । जेठी अलि छुच्ची स्वभावकी थिइन् । नक्साल तिर तिनको कोही केटासाथी थियो । घरमा फोन आइरहन्थ्यो । फोन आए पिच्छे रामेश्वर साहु नेवारीमा अपशब्दनै बोलेर पनि गाली बर्साइरहन्थे र कोठामा बोलाएर छोरीसित को हो किन फोन गरेको भनेर केरकार गरिरहन्थे ।
‘बाहिर कतै केटासित हिंडेको देखे मलाई आएर भन्नु’, छेरीहरुले सुन्ने गरी बेलाबेला साहुजी कामको अर्को जिम्मा पनि मलाई सम्झाइरहन्थे । शायद यसो भनेर उनी छोरीहरुलाई ‘तमीहरुको निगरानीमा खुलेआम जासुस छोडेको छु’ भनेर थर्काउन चाहन्थे । मैले केही पटक देखे पनि देखेँ भनेर कहिल्यै कुरा लगाइनँ । कुरा नलगाइदिएपछि जेठीको छुच्चो पन पनि कम भएर गयो ।
प्राय दिउँसो खाजा दिन्थिन् साहुनी । खाजा लिन भान्सामा जान पाइन्नथ्यो । पानी परे बाहिर बरन्डामा नत्र तलै बसेर खानु पर्ने नियम थियो । खाजा हुन्थ्यो प्राय पीरो पारेर भुटेको लसुनको पात, अन्डा र भुटेको चिउरा । कहिले काहिँ चिया पाउरोटी । चिया म नखाने भएकाले पाउरोटीमात्रै चपाउँथे । साहुनी नेवारीमा एक्लै भुत्भुताउँथिइन्, ‘चिया पनि नखाने यो बाहुन केटो कसरी बाँचेको होला?’
घरको अर्को कडा नियम थियो, आफूले खाएको थालबटुका माझेर, सुकाएरमात्रै माथि लानु पर्ने । साहुनी पनि सासुकै शैलीमा नेवारीमै भन्थिन्, ‘तिमी को हो को, छोएको हामी खाँदैनौँ, हाम्रो भान्सा तिर नआउनू, भाँडा नसुकी माथि नल्याउनू ।’
कहिले काहिँ पुराना बोत्तल पखाल्ने वा अरु काम कम हुँदा घरका भाँडा माझिदिने थप जिम्मेवारी पनि आइलाग्थ्यो । एक दिन मैले साहुजीलाई भनिदिएँ, ‘म घरको भाँडा माझ्ने काम चाहिँ गर्दिनँ ।’ रामेश्वर साहुले साहुनीलाई अह्राए, ‘यो केटोलाई घरको भाँडा माझ्न नलाउनू ।’ त्यसपछि उनीहरुको जुठा भाँडा माझ्नु परेन ।
भ¥याङ चढ्नु अघि विन्हाबी नभने गाली खानुपर्ने, त्यो अँध्यारो छिंडीमा कोही नुहाउँदै छ भने भित्र छिर्न नपाइने नियमहरु थिए त्यहाँ । (यो विन्हाबी भन्ने नियमसित म परिचित थिएँ । खुशीबुँमा एकजना अनिल श्रेष्ठ भन्ने व्यक्तिको घरमा १६ दिन घरेलु कामदार बस्दा मलाई यो सिकाइएको थियो । यसको अर्को कथा कुनै दिन लेख्नुछ ।)
रामेश्वर साहुकोमा काम गरुन्जेले मैले ती नियम सम्मान नै गरिरहेँ ।
मलाई काम प्रति कहिल्यै गुनासो भएन । दिनभर पुराना बोत्तल धोएर, मरिच चिउरा, माइनिज जाम बोकेर सहर कुद्दै बिताएर मैले आरआरमा बेल्काको पत्रकारिता कक्षा लिइरहेको थिएँ । सामान बजार पु¥याएर फर्किँदा वा लिन जाँदाको खाली समयमा तिनताका बागबजार कार्यालय भएर छ्यास्छ्यासती खुलेका साप्ताहिक पत्रिकाकामा छिर्थेँ । गजल कविता छाड्थेँ । यसरी रामेश्वर साहुको मसला ‘कारखाना’मा काम गर्दै मैले पत्रिकामा कविता गजल छापेको थिएँ र पत्रकारिताको बाटो तय गरेथेँ ।
त्यही भएर पनि मलाई गैरीधाराको हिमाली स्पाइस सर्भिसको काम विशेष सम्झनामा रहिरहन्छ । काठमन्डु अडिने मेरो भरोसा थियो त्यो । रामेश्वर साहु विशेष सम्झनामा छन्, तिनले मलाई काम दिएका थिए । र सबैको मूल हरिसिंह ठकुरी थिए जसले काम लगाइदिए ।
पछि कान्तिपुरमा काम थालेपछि एउटा संयोग भयो । हिमाल मिडियाको अफिस पाटन क्याम्पस अगाडिको एउटा घरमा थियो । तिनताका म पनि चाकुपाट डेरा गरी बस्थेँ । प्रतिविद्यार्थी एक ल्यापटप (ओएलपीसी) भन्ने शिक्षामा एउटा परियोजना भरखर सुरु भएको थियो । म यो कसरी सम्भव छ भनेर रिपोर्टिङ गरिरहेको थिएँ । अमर लामा र केदार शर्माले त्यसबारे एउटा लेख लेखेका थिए कान्तिपुरमा । र म थप केही जानकारी मिलिजाला कि भनेर केदार दाइ र अमर लामालाई भेट्न हिमाल अफिस पुगेको थिएँ ।
रिसेप्सनमा गएँ, नाम र आउनुको कारण बताएपछि रिसेप्सनकी होचो कदकी ज्यानदार गोरी केटीले मुस्कान सहित अलि लेघ्रो तानेर सोधी, ‘तिम्ले मलाई चिन्यो ।’ मैले तिनलाई त्यति सारो वास्ता गरेको थिइनँ र सहजै भनिदिएँ, ‘अहँ, चिनिनँ त ।’
पछि उनैले सम्झाइन्, ‘म गैरीधाराको रामेश्वर साहुको छोरी ज्योत्स्ना ।’ मैले तिनलाई एकटक हेरेँ । त्यसपछि गैरीधाराको हिमाली स्पाइस सर्भिस, ती पुराना बोत्तल, मरिच च्युराका बोराको भारी, माटोको गारो भएको त्यो पुरानो घर र हस्की स्वर भएका रामेश्वर साहु सम्झनामा एकसाथ झल्याकझुलुक आए ।
सोधेँ, ‘साहुजीलाई कस्तो छ?’
उनले भनिन्, ‘ड्याडी त बित्नु भइसक्यो नि ।’
त्यसपछि सेतै फुलेका रामेश्वर साहुको अनुहार मेरो आँखामा नाच्यो । काम छोड्ने बेला मैले रामेश्वर साहुलाई भनेको थिएँ, ‘साहुजी म भोलिदेखि आउन्न, काम छाड्छु । मैले पत्रिकामा काम पाएँ ।’
‘पत्रिकामा’, मेरो कुरा खासै नपत्याएर खिस्याएझैँ उनले भनेका थिए , ‘विहानविहानै पत्रिका ओसारेर के गर्छौ ? दुई सय रुपैया बढाएर १७ सय दिन्छु बस ।’
उनले तलब थोरै भएर घुक्र्याएको होला र विहानै हकरका रुपमा पत्रिका बेच्न जान लागेको होला ठानेछन् । मैले घुकर्याएको थिइनँ । मैले हकरको काम त धेरै पहिले गरिसकेको थिएँ । म हकर हुन जान लागेको थिइनँ । काम छाड्ने जानकारी दिनुथियो दिएँ । मलाई उनको सहमति चाहिएको थिएन । आफ्नै मनमौजीको थिएँ । भोलिपल्टदेखि काममा जान छाडिदिएँ । मैले दुई सय रुपैया लिन बाँकी थियो, पछि कुनै दिन उनको घर छिरेँ । आँगनबाटै ‘मेरो २ सय लिन बाँकी छ, लिन आएको दिनुस््’ भनेँ, उनले नबोलेरै झ्यालबाट सयका दुईटा नोट खसालिदिए । रामेश्वर साहुसित मेरो हिसाब सकियो । त्यो उनीसित मेरो अन्तिम भेट थियो ।
एक वचन भनिदिएकै भए त हुन्थ्यो तर मैले हरि दाइलाई काम छाडेको कुरा भनेको थिइनँ । भन्नु जरुरी पनि ठानिनँ खासमा ।
साहुजीले हरिदाइलाई फोन गरेर ‘तिमीले ल्याएको केटोले काम छाडेर गयो’ भनेछन् । धैरैपछि भेट हुँदा हरिदाइले सुनाएका थिए ।
औपचारिक शिक्षा शायद हरिदाइले धेरै लिन पाएनन तर उद्यमशीलतामा उनी बडा इमानदार थिए । उनले हामी कामदारलाई कहिल्यै कामदारजस्तो व्यवहार गरेनन् । सधैँ भाइनै भने । उनले जे खाए त्यही खुवाए । उनले सकेको तलब दिइरहे ।
हरि दाइ अहिले त शायद राम्रै उद्यमी होलान् ।
काठमडौंमा कताकता छरिँदै गएको मलाई हरिसिंह ठकुरीले एउटा बाटो देखाइदिए, जुन बाटोलाई मैले कतै घिस्रिँदै, कतै कुद्दै, कतै मडारिंदै, कतै ठेसिँदै र कतै सुस्तरी हिंड्दै आफू हिंड्न लायकको बनाएँ ।
... ... ...
म पुलिस बन्न दरखास्त दिने लाममा उभिएको थिएँ । असइमा हो कि इन्स्पेक्टरमा जागिर खुलेको थियो, माओवादी द्वन्द्वको त्राहिमाम थियो । र पनि जागिर खान भीडभाडनै थियो । हातमा फाइल, फाइलमा शैक्षिक प्रमाणपत्र र अरु कागजात । तिनै कागजातहरुको लाममा थियो एउटा सिफारिस । सिफारिस गरेका थिए हरि लम्सालले ।
उनी थिए पत्रकार हरि लम्साल । तिनताका औसत खाले एउटा साप्ताहिक पत्रिका छापिन्थ्यो विहीवार राष्ट्रवाणी नामको । उनी त्यसको प्रकाशक सम्पादक थिए ।
उनीसित पनि मेरो संयोगले भेट भएको थियो ।
रामेश्वर साहुको काम छाडेपछि ‘दिव्य दर्शन’ नामको तिनताकाको औसतभन्दा निकै तल्लो स्तरको साप्ताहिकमा काम थालेको थिएँ मैले । तलब लिएर काम थालेको र मैले पत्रकारितानै थालेको यो पहिलो पत्रिका थियो ।
एकसाँझ भास्सिए भास्सिएजस्तो स्वर भएको एउटा अधवैँशे दिव्यदर्शन कार्यालय छिरे । दिव्य दर्शनका प्रकाशक सम्पादक थिए रामचन्द्र तिवारी । जसको कार्यालय मध्य बागबजारमा तिवारीकै घरमा थियो । बाजबजारबाट पुलिस क्लब जाँदा बीच चोकबाट दाहिने लागेपछिको तीन तले घरमा थियो पत्रिकाको कार्यालय । चोकमा माओवादी निकट जनादेश साप्ताहिक, अलि अगाडि माले निकट प्रकाश साप्ताहिक, प्रकाश साप्ताहिक भएकै घरमाथि खबरकागज, पुलिस कलबकै अगाडि खुलामञ्च साप्ताहिक । झन्डै घरै पिच्छेजसो साप्ताहिकका कार्यालय थिए ।
दिव्य दर्शन पूरापूर राजभक्तीमा लीन थियो । तिवारी सर थिए पूजापाठ गरिहोरी मात्रै माथिल्लो तलाको अफिसमा चढ्ने उस्तै पर्दा रामनामी बर्को ओढेर । टिनले छाएको घरको सबैभन्दा माथिल्लो तलालाई उनले पत्रिकाको कार्यालय बनाएका थिए र तल्लो तला उनको निवास थियो ।
उनी दुई चार वाक्य पनि राम्ररी लेख्दैन थिए, लेख्न जान्दैन थिए । तर पत्रिकाको पहिलो पृष्टमा छापिन्थ्यो दिव्यदृष्टि नामको स्तम्भ उनका नाममा । त्यसलाई लेखिदिन्थे केबी मरहट्ठाले । कहिले काहिँ हरि लम्सालले पनि लेखिदिन्थे त्यो स्तम्भ । पत्रिकाकामा कामदार थियौँ (के पत्रकारिता गरिन्थ्यो र त्यहाँ, दैनिक पत्रिकाबाट समाचार सारिन्थ्यो) वासु दाहाल उनी नेताहरुको अन्तरवार्ता लिन्थे (दश वर्ष अघि उनी मोटरसाइकल दुर्घटनामा बितेर गए), मोहन ढुंगेल सबैथोक लेख्थे उनको पनि कलम धारिलै थियो । र म, पत्रिकामा आएका समाचार छोटो बनाएर सार्ने बाहेक साहित्यको स्तम्भ, फिल्म, खेलकुद, खाली ठाउँ भर्नु पेर्न अरु टुक्रे समाचार लेख्थेँ । बासु र मरो थप काम चाहिँ शुक्रवार राती टेकुमा पत्रिका छाप्न लाने र शनिवार विहान पत्रिका भुगोलपार्क पु¥याएर वितरककोमा छाड्ने थियो । त्यसबावत शुक्रवार बेलुकाको खानाकोपैसा पाइन्थ्यो ।
पत्रिका शनिवार छापिने भएकाले मरहठ्टा सर विहीवार आधादिन र शुक्रवार पूरा दिन बस्नेगरी आउँथेँ । पत्रिकाको पहिलो पेजलाई चाहिनेजति सम्चार सब लेख्दिन्थे । मरहट्ठा सर अहिले अमेरिका छन् । उनको कलम बडा धारिलो थियो । उनी जनभावना, दिव्यवदर्शन लगायत यस्ता कैयौँ साप्ताहिक पत्रिकामा घोस्ट राइटर भएर मूख्य समाचार लेख्ने काम गर्थे । उनी व्यंग्यदेखि व्यक्तिचित्रसम्म, राजनीति देखि अन्तराष्ट्रिय विश्लेषणसम्म, राशीफलदेखि साहित्यसम्म, धर्मशास्त्रदेखि कोकशास्त्रसम्म रसिलो भाषामा लेख्न सक्थे । उनको बोली पनि त्यसतै रसिलो थियो । कुनै पनि घटना उनी रसिलो भाषामा सत्य नै हो जसरी सुनाउँथे । उनलाई नाम चाहिन्नथ्यो बस् पैसा भए हुन्थ्यो । मलाई पहिलोपल्ट पत्रिकामा जागिरको लागि सिफारिस गर्ने पनि उनै थिए । जाम, मसलाको भारी विसाएर कविता गजल छाड्न जाँदाजाँदै उनले एकदिन सोधेका थिए, ‘के गर्छौ भाइ, कविता त राम्रै लेख्दा रछौ ? अरु पनि लेख्न आउँछ ?’
‘म पत्रकारिता पढ्दैछु, सबथोक लेख्न सक्छु सर’, मैले जवाफ दिएको थिएँ ।
‘पत्रिकामा काम गर्ने ?’
‘पाए गर्ने’
मेरो उत्तर सुनेर उनले भनेका थिए, ‘तलब १५ सय हुन्छ । एकजना लेख्न सक्ने सहयोगी चाहिएको छ । म तिवारीजीसित कुरा गर्छु, अर्को शुक्रवार मलाई भेट्नू ।’
र अर्को शुक्रवारबाट म त्यहाँ जागिरे भएको थिएँ २०५६ साल जेठ वा असारको कुनै हप्ता ।
हो, यही दिव्यदर्शनमा भेट भएको थियो हरि लम्सालसित । सुर्ती र चुरोटले खिया परेर काला बन्दै गएका नमिलेका दाँत मुस्काएर आँखा सनक्क माथि सन्काउँदै उनले भास्सिएको स्वरमा सोधेका थिए, ‘के हो नाम ?’
जतिपल्ट उनी आउजाउ गरिरहन्थे हरेकपल्ट मेरो नाम सोधिरहन्थे उसैगरी चुरोटले खिएका र काला बन्दै गरेका दाँत मुस्काउँदै, ‘के हो नाम ?’
उनले हरेक पल्ट नाम सोध्ने र मैले हरेक पल्ट नाम भन्ने मै हाम्रो चिनजान सीमित थियो । अर्को कुनै दिन उनी उसैगरी पत्रिकाको अफिस आए र सोधे, ‘के हो नाम ?’
यसपल्ट मैले नाम भनेँ र सँगै एउटा आग्रह गरेँ, ‘दाइ मलाई एउटा सहयोग चाहियो ।’
उनले ठट्टैठट्टामा ङिच्च हास्दै सोधे, ‘तिमीले काम गरेको पैसा तिवारीजीले दिनुहुन्छ । के सम्चार कहाँबाट सार्ने मरहट्ठा जीले भनिहाल्नु हुन्छ । त्यसबाहेकको सहयोग त म गरिहाल्छु नि । ल भन के गर्न पर्यो ?’
मैले प्रहरीमा जागिर खुलेको, आवेदन गर्न लागेको र त्यसका लागि एउटा सिफारिस लेख्दिनँ भनेँ । मलाई के लागेको थियो भने माओवादी जगजगीमा कम्तीमा राजाबादीबाट सिफारिस गराउँदा जागिर पाउने सम्भावना धेरै हुन्छ । मैले यत्ति के भनेको थिएँ उनले एकपानो सादा कागज लिए र ठाउँको ठाउँ सिफारिस लेखिदिए, ‘पत्रबाहक निज अनमोलमणि राजा, राजसंस्था र व्यवस्थाप्रति इमानदार रहेकाले उनी देशको सुरक्षा निकायमा जागिर खान योग्य’ रहेको व्यहोराको सिफारिस तयार भयो । उनले आफ्नो नाम नम्बर सब लेखिदिए सिफारिसमा । र सोधे, ‘तिमी माओवादी त हैन नि ?’
मैले हैनमा मुन्टो हल्लाएँ र भने, ‘तर म राजाबादी पनि होइन दाइ हुन चैँ ।’
‘तिम्रो पारा मैले देखिराछु भाइ, तिमी राजाबादी होइनौ । तर तिमी आँटिलो छौ, भविष्यमा राम्रै गर्छौ ।’
म माओवादी थिइनँ, तर उनले लेखेजस्तो म कहिल्यै राजा, राजसंस्था र व्यवस्थाको पक्षमा पनि थिइनँ । पत्रकारिताको सुरुवाती जागिर राजावादी पत्रिकामा खाएँ तर मलाई कहिल्यै राजतन्त्र मन परेन । म त कक्षा ३ हुँदै रुपचन्द्रको बहुदलका पक्षमा हिंडेको मान्छे । माध्यमिक तह पढ्न थालेपछि जनमोर्चाका स्थानीय नेता गाविस उपाध्यक्षको घर बसेर रातीराती पर्चा बांड्ने र भित्ता लेख्ने गर्दै हिंडेको मान्छे । कक्षा ८ मै गोर्कीको आमा पढेर भावुक बनेको मान्छे । मेरो रगतमा कम्युनिष्ट थियो । तर यतिखेर मलाई जागिर चाहिएको थियो, सरकारी जागिर त्यो पनि पुलिसमा । उनले सिफारिस लेखिदिए, बस् मेरा लागि त्यही ठूलो कुरा भयो । अझ ‘म राजाबादी होइन भन्दा पनि उनले सिफरिस गर्दिनँ’ भनेनन् ।
उनको सिफारिस हात परेपछि मैले मनमनै ठानेँ, ‘अब पक्का पुलिस बनियो केटा ।’ कुद्ने उफ्रिने शारीरिक अभ्यास मेरा लागि गाह्रो थिएन । किनभने म तिनताका सितोरियो करातेको खेलाडी थिएँ । कक्षा ३ हुँदा काटिएको देब्रे हातको चोरी औँला बाङ्गो हुनु बाहेक ममा कुनै शारीरिक खोट थिएन । त्यसमाथि यत्तिको सिफारिस ।
हरि लम्सालले लेखिदिएको त्यही सिफारिस पत्रसहितको फाइलमा च्यापेर म पालो कुरिरहेको थिएँ ।
‘साला तिमीहरु सब आतंककारी हौ, अन्वार हेर अन्वार राणीका छोराहरुको, साला पुलिसमा जागिर खान आएकाको अन्वार’, एउटा पुलिस कराउँदै लाइनमा आयो । केही छिनमा अर्को आयो, मुखमा आएजति गाली बक्दै, यिनीहरु सबलाई गोली ठोकेर मार्नुपर्छ । मर्नि भए सालेहरु ।
शायद माओवादी चरम द्वन्द्वका कारण होला, उनीहरु लाइनमा बसेकालाई इरिटेट गर्न चाहन्थे । झन्डै २ घन्टा लाइन बसुन्जेल छिनछिनमा तिनको गाली सुनेपछि मैले सोचेँ, ‘म मान्छेनै रहन्छु, पुलिस बन्दिनँ ।’ र जागिरको रहर त्यहीँ छाडेर म त्यो लाइनबाट लुसुक्क निस्किएँ नागरिकता छुटेको बहानामा ।
हरि लम्सालले लेखिदिएको त्यो सिफारिस मैले प्रयोग गरिनँ । प्रयोगमा आएन । त्यो सिफारिस पछिसम्म थियो मसित । कागजपत्रको कुन खातमा कता हरायो पछि ।
त्यसपछि हरि लम्साललाई मैले गर्ने सम्मान बढ्यो । जहाँ भेटे पनि म उनलाई नमस्कार गर्थे । तर त्यसपछि चाहिँ उनले मेरो नाम कहिल्यै सोधेनन् । उनले पुलिसमा जागिर भयो भएन पनि सोधेनन् । सिफारिसले हरि दाइसित मेरो दोस्ती बढ्यो । बेलाबेला म उनको राष्ट्रबाणी कार्यालयमा जान्थेँ । पछि त उनको छोरो विकास लम्साल र म सँगै कामगर्न थाल्यौँ समाचारपत्रमा र मैले हरि दाइलाई दाइबाट अंकल भन्न थालेँ । घरमा आउजाउ हुनथाल्यो । विकास मेरो तँ तँ म म गर्ने साथी भयो ।
मैले २०६२ कात्तिकमा समाचारपत्र छाडेपछि विकाससितको सम्बन्ध पनि पातलियो । ऊ पनि समाचारपत्र छाडेर टिभितिर लाग्यो । र हरि अंकलसितको भेट पनि पातलियो ।
पछि पत्रकारिता छाडेर विकास पोर्चुगल भासियो । अंकल सिकिस्त विरामी भनेर गतवर्ष नेपाल गएको ऊसित कुरा हुँदैथ्यो उसले अंललाई फोन दियो । अंकल हार्ट अट्याक उपचारपछि झन्डै पक्षाघातजस्तो भएर आराम गरिरहेका थिए । र पनि मेरो नाम सुनेपछि उनले उही पुरानै लवजमा आफ्नो भास्सिएको स्वरमा सोधे, ‘के छ ?’
लामो कुरा त हुन सकेन, तर मैले भनेँ, ‘म त ठीक छु अंकल, तपाइँ छिट्टै निको हुनुस् ।’
मेरो जवाफ अंकलले बुझे बुझेनन् कुन्नि ?
(नोटः संयोग, मेरो जीवनको कुनै न कुनै पाटोमा जोडिएका सात ‘हरि’ रहेछन् । जसमध्ये दुई हरिलाई मैले यहाँ सम्झेको छु ।)
यो सामग्री ३ जनवरी २०२६को नेपाल न्यूजमा पनि प्रकाशित छ । पढ्न यहाँ क्लिक गर्नुहोस्
https://nepalnews.com/2026/01/03/those-two-hari/